राजबिराज , ३१ भदौ । छिन्नमस्ता गाउँपालिकाले हालै सम्पन्न ZEN-Z आन्दोलनका क्रममा सहादत प्राप्त शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
भदाै २३ र २४ गते भएको आन्दोलनमा घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि गाउँपालिकाले व्यक्त गरेको छ ।
यसै क्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब भत्ता बराबर रु. ५ लाख ५१ हजार राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले मंगलबार विज्ञप्ति जारी गर्दै छिन्नमस्ता गाउँपालिका पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहमा अटल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले पुनर्निर्माण र विकासको यात्रामा सक्रियतापूर्वक अघि बढ्दै, सेवक नेतृत्वको भावनासहित जिम्मेवार र प्रभावकारी ढंगले नागरिकलाई सेवा प्रवाह गर्ने दृढ संकल्प दोहोर्याएका छन् ।