राजबिराज , ४ चैत । सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ खर्साल टाेलमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।
सोमबार दिउँसो भएको आगलागीबाट एक काठ/फर्निचर उद्योग सहित तीन वटा घर जलेको सप्तरी प्रहरीले जनाएको छ ।
स्थानीय दुबीलाल यादवको घरमा विद्युत सर्ट भई सलकेकाे आगोले उनको तीन वटा घर जलेको छ भने उक्त आगोले छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट भएको छ ।
दुबीलालको घरसहित नगद रु ५० हजारसहित गरगहना, लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको छ ।
आगोले शर्माको फर्निचर उद्योगमा राखिएका लाखौंको काठ र फर्निचर तथा काठ चिरान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भएको उनले बताएका छन् ।
प्रहरीका अनुसार शर्माको रु ४ लाखभन्दा बढी र यादवको रु ८ लाखभन्दा बढीको सम्पत्ति आगोमा जलेर नष्ट भएको छ । आगोलाई स्थानीय बासिन्दा, प्रहरी र दकमलको सहयोगमा निभाईएकाे छ ।