राजबिराज, १९ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि गत आइतबार जिल्ला प्रहरी कार्यालयमा दुवैजनाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। उनीहरूविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
सोही नगरपालिका– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेसमार्फत मुद्दा दायर गरेका थिए। उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी गरिएको छ। याे नयाँ पत्रिकाकाे अनलाइन बाट साभार ।