राजबिराज , १ जेठ । सप्तरीको राजबिराजमा संचालित राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा नेपाल पुलिसले प्रथम स्थान हासिल गरेको छ ।
मंगलबार सम्पन्न फइनल खेलमा अर्का विभागिय टोली एपिएफलाई २१ का बिरुद्ध २४ अंकको झिनो अन्तरले हराउँदै प्रथम स्थान हासिल गरेको हो ।
जिल्ला कबड्डी संघ सप्तरीको आयोजना, अखिल नेपाल कबड्डी संघको समन्वय तथा राजविराज नगरपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सहयोगमा बैशाख २९ देखी सुरु भएको प्रतियोगितामा नेपाली सेना र लुम्बिनी प्रदेश तेश्रो स्थान प्राप्त गरे ।
प्रतियोगितामा बिजेत टिम नेपाल पुलिसले नगद एक लाख एक हजारसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजेता एपिएफ टिमले नगद ५१ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने नेपाली सेना र लुम्बिनी प्रदेशले जनही २५÷२५ हजार नगदसहित मेडल र कदरपत्र प्राप्त गरे ।
तीन दिनसम्म चलेको प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश तथा तीन विभागिय टोली गरि कुल ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता समाप्तीपछि जिल्ला कबड्डी संघका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्द झा लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगिता समापनका अवसरमा पत्रकार महासंघ सप्तरी र आयोजक समितिबीच भएको मैत्रीपूर्ण कबड्डी प्रतियोगिता बराबरीमा टुंगिएको छ । पत्रकार महासंघ र आयोजक समिति दुबै टिमको निर्धारित समयसम्म ९/९ अंकमा हुँदा खेल बराबरीमा सकिएको जिल्ला कबड्डी संघले जनाएको छ ।