राजविराज, ०६ भदौ । सप्तरीको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किशोरकुमार राम र लेखापाल टेकनारायण यादवले आफूखुसी एक निर्माण कम्पनीलाई करिब ८० लाख रुपैयाँ भुक्तानी दिएको खुलेको छ । आर्थिक वर्षको अन्तिम साता गत असार २४ गते पालिकाले अंशुमन अधिकारी जेभीलाई माग नै नआइ ७९ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
पालिकाका लेखापाल यादवलाई एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलार सम्बन्धी एउटा अर्को योजनामा घूस लिँदै गर्दा राजविराजको गजेन्द्र चेकबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने प्रमुख प्रशासकीय अधिकृत राम नागरिकता सम्बन्धी मुद्दामा आरोपित रहेर सप्तरी जिल्ला अदालतबाट ५० हजार धरौटीमा छुटेका हुन् ।
संघीय सरकारको समपूरक अनुदानअन्तर्गत विष्णुपुर-१ मा पर्साही-थलही जोडने सडक तथा पक्की नाला निर्माणको ठेक्का छ । संघीय सरकारको १ करोड ८० लाख र विष्णुपुर गाउँपालिकाको १ करोड ८० लाख गरि कुल ३ करोड ६० लाख रुपैयाँको उक्त योजनाको निर्माण कम्पनी उक्त जेभी हो । पालिकाका इन्जिनयर रामचन्द्र दासका अनुसार करिब ३ करोड ५० लाख रुपैयाँमा उक्त योजनाको टेण्डर अंशुमन अधिकारी जेभीको नाममा स्वीकृत भई गत पुसमा सम्झौता भएको थियो ।
१८ महिनाभित्र काम सम्पन्न हुनुपर्ने योजनाका ठेकेदारलाई ३०-३० लाख गरी दुई पटकमा ६० लाख रुपैयाँ पेस्की दिइएको इन्जिनयर दासले जानकारी दिए । उनका अनुसार असारको दोस्रो सातासम्म सम्पन्न भएको कामको मूल्यांकन गरेर निर्माण कम्पनीलाई पहिलो रनिङ बिलवापत २५ लाख रुपैयाँ भुक्तानी गरिएको थियो ।
उक्त योजनाका प्राविधिकसमेत रहेका इन्जिनयर दास आफूले गरेको हालसम्मको मूल्यांकनमा उक्त योजनामा २० प्रतिशतभन्दा बढी काम भएको छैन । ‘असारको दोस्रो हप्तातिर मैले उक्त योजनाको मूल्यांकन गरेँ, त्यसका आधारमा २५ लाख रुपैयाँ पहिलो रनिङ बिलको रुपमा भुक्तानी भयो,’ उनले भने,‘त्यसपछि पनि रकम निकासा गएको सुनेको छु । वास्तविकता के हो मलाई थाहा भएन्, पहिलो रनिङ बिलपछि मैले कुनै पनि मूल्यांकन गरेको छैन्, काम पनि भएको छैन ।’
ठेकेदार कम्पनीले माग नगरेको र काम समेत नभएको अवस्थामा पालिकाले असार २४ गतेको मितिमा चेकमार्फत अंशुमन अधिकारी जेभीलाई ७९ लाख ७८ हजार रुपैयाँ भुक्तानी दिएको छ । कान्तिपुरलाई प्राप्त जानकारी अनुसार विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किशोरकुमार राम र लेखापाल टेकनारायण यादवको नाममा कुमारी बैंकमा रहेको गाउँपालिकाको खातावाट नबिल बैकमा रहेको उक्त जेभीको खातामा पैसा गएको हो ।
कुनै पनि योजनामा निर्माण कम्पनीलाई भुक्तानीका लागि सुरुमा प्राविधिकले मूल्यांकन गर्ने, त्यसपछि निर्माण कम्पनीले बिलभौचर राखेर भुक्तानी माग गर्ने र त्यसरी गरिएको मागमा कामको मूल्यांकनका आधारमा भुक्तानी दिने चलन छ । तर स्रोतका अनुसार विष्णुपुर गाउँपालिकाले उक्त जेभीलाई करिब ८० लाख रुपैयाँ भुक्तानी दिँदा न कुनै मूल्यांकन भएको छ न त निर्माण कम्पनीले मागेको कागजात गाउँपालिकामा पेस भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत राम चेकमा लेखापाल यादवले आफूलाई भुक्याएर सही गराएको दाबी गर्छन् । ‘म साउन ४ गते काठमाडौं जाँदै थिएँ । राजविराज एयरपोर्टमा जहाज चढ्न जाँदा पालिकाका एक कर्मचारीलाई लेखपालले दुईवटा चेक दिएर सही गर्न पठाएका थिए,’ रामले भने,‘असार मसान्तमा काटिएको चेकमा कुनै चेक बिग्रन सक्छ,तपाई काठमाडौं जाँदै हुनुहुन्छ, बिग्रेको चेक फेर्नुपर्ने हुनसक्छ दुईवटा चेकमा सही गरिदिनु होला भनेपछि मैले विश्वास मानेर खाली चेकमा सही गरेँ । एउटा चेकवाट राजस्व जम्मा गरिएको रहेछ,अर्को चेकबाट लेखापालले ७९ लाख ७८ हजार रुपैयाँ अंशुमन अधिकारी जेभीलाई भुक्तानी गरेको रहेछ ।’ याे समाचार इकान्तिपुर बाट साभार गरिएको छ ।