म माथि टिप्पणी गर्ने उनीहरुको हैसियत नै छैन ः अध्यक्ष चौधरी
राजविराज, ४ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रतिपक्षी दलका नेताहरुले वर्तमान अध्यक्षमाथि गम्भिर आरोप लगाएका छन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जयप्रकाश यादव र नेकपा एमालेतर्फका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्रकुमार यादवले वर्तमान अध्यक्ष विद्यानन्द चौधरीमाथि समाजिक सञ्जाल फेसबुकबाट गम्भिर आरोप लगाएका हुन् ।
सप्तरीका अधिकांश स्थानीय तहहरुले यतिबेला करारका कर्मचारीहरुको म्याद नथप्ने पत्र सार्वजनिक गरिरहेको छ । यसै सन्दर्भमा छिन्नमस्ता गाउँपालिकाले हालसम्म कुनै सूचना सार्वजनिक गरेको छैन ।
तर, समाजिक सञ्जाल फेसबुकमा राखिएको यस सम्बन्धी स्टाट्समा अध्यक्ष पदका प्रत्यासी यादवद्वयले छिन्नमस्ता गाउँपालिकाका करार कर्मचारीसँग जनही १ लाख रुपैयाँ माग गरिसकेको जनाएका छन् ।
‘गाउँपालिका अध्यक्षको निर्देशनमा गठित एउटा अपारदर्शी टीमले यो सब मिलाउने काम गरिरहेको छ’, मधेसमिररसँग टेलिफोनमा कुराकानी गर्दै अध्यक्ष पदका प्रत्यासी दिपेन्द्रकुमार यादवले भने, ‘सबै करारका कर्मचारीहरुलाई यथास्थितीमै काम गर्नु छ भनि १/१ लाख रुपैयाँ दिनुपर्ने भनिसकेको छ ।’
अर्का अध्यक्ष पदका प्रत्यासी जयप्रकाश यादवले पनि करारकै एक कर्मचारीलाई अरु करार कर्मचारीसित रकम उठाउने सूचना आफूले पाएको बताए । सोही अनुसार अहिलेसम्म करार सम्बन्धी कुनै आधिकारिक निणर्य गाउँपालिकाले नगरेको उनको भनाई छ ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष चौधरीले यो सब वाहियात आरोप रहेको दाबी गरे । ‘टिप्पणी गर्नेहरुको हैसियत नै छैन’, उनले भने, ‘यस सम्बन्धी मसँग धेरै नसोध्नुस् ।’
यहि असार ३२ गते ने ४२ जना करार कर्मचारीहरुको म्याद सकिएको र अहिले दिनहु कार्यालाय गए पनि अध्यक्षले हाजिरी गर्ने रजिस्टर समेत चोरी गराइ सकेको एक करारका कर्मचारीले जानकारी दिए ।