काठमाडौं, ५ श्रावण । सरकारले कर प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सञ्चालन गर्ने भएको छ।
योजना अन्तर्गत १०० रुपैयाँभन्दा बढीको खरिदमा सक्कली बिल लिने उपभोक्ताले नगद पुरस्कार जित्ने अवसर पाउनेछन्।
सरकारका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिने नागरिक स्वतः योजनामा सहभागी हुनेछन्। बिलमा उल्लेख भएको नम्बरकै आधारमा विजेता छनोट गरिनेछ।
योजनाअनुसार हरेक दिन एक जना नेपालीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै हरेक महिनामा दुई जनालाई १०–१० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।
हालका लागि विजेताको घोषणा हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन अर्थात् पाक्षिक रूपमा गरिने जनाइएको छ।
सरकारले यस अभियानबाट उपभोक्तामा सक्कली बिल लिने बानीको विकास हुने, कर छलि नियन्त्रणमा सहयोग पुग्ने तथा राजस्व संकलन बढ्ने अपेक्षा गरेको छ। त्यसैले १०० रुपैयाँभन्दा बढीको कुनै पनि खरिद वा सेवा लिँदा सक्कली बिल लिन सरकारको आग्रह छ।