कृष्ण मण्डल
राजबिराज, २३ असार । जनमत पार्टीको सचिवालयले मधेश नेपालको राजनीतिमा निर्णायक शक्ति रहेको दाबी गर्दै यसको राजनीतिक भविष्य उज्ज्वल रहेको जनाएको छ।
सचिवालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको धारणा अनुसार मधेशको जनसंख्या ५४ प्रतिशत रहेको र मधेशको समर्थनबिना देशमा कोही पनि प्रधानमन्त्री बन्न नसक्ने उल्लेख गरिएको छ।
पोस्टमा मधेशले समर्थन गरेका राजनीतिक दलहरूको नेतृत्वमा नै सरकार गठन हुँदै आएको दाबी गरिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नेतृत्वका सरकारहरू मधेशकै समर्थनबाट बनेको उल्लेख गर्दै यसपटक पनि बालेन नेतृत्वको सरकार मधेशकै समर्थनमा बनेको दाबी गरिएको छ।
जनमत पार्टीले मधेशलाई बेवास्ता गरेर कुनै पनि सरकार बन्न नसक्ने उल्लेख गर्दै नेपालको सत्ता समीकरणमा मधेश सधैं निर्णायक रहने र त्यसैले मधेशको राजनीतिक भविष्य उज्ज्वल रहेको जनाएको छ।