२०८३ साल जेठ ११ गते सोमबार

“नेता भोटले होइन, एजेण्डा र संघर्षले बन्छ” : सीके राउत

राजबिराज १० जेठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी. के. राउतले चुनावी जित–हारलाई मात्रै राजनीतिक नेतृत्वको मापनको आधार बनाउन नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले भारतका स्वतन्त्रता आन्दोलनका नेता महात्मा गाँधी र भारतीय संविधानका प्रमुख शिल्पकार डा. भीमराव अम्बेडकरको उदाहरण प्रस्तुत गर्दै नेता बन्नका लागि एजेण्डा, विचार र संघर्ष महत्वपूर्ण हुने उल्लेख गरेका हुन् ।

उनले महात्मा गाँधीले कहिल्यै लोकसभा वा राष्ट्रिय सभा चुनाव नलडे पनि भारतको स्वतन्त्रता आन्दोलनका सर्वमान्य नेता बनेको उल्लेख गरेका छन् । त्यस्तै, डा. अम्बेडकरले १९३७, १९४६, १९५२ र १९५४ मा विभिन्न चुनाव हारे पनि भारतीय संविधान निर्माण तथा सामाजिक न्यायको आन्दोलनमा ऐतिहासिक योगदान दिएको बताएका छन् ।

“नेता भनेको एजेण्डा र संघर्षले हुने हो, भोटले मात्रै होइन,” राउतले लेखेका छन्, “चुनाव जित्दैमा सबैथोक जितिएजस्तो र हार्दैमा सबै सकिएजस्तो गर्न हुँदैन ।”

उनले चुनावी परिणामलाई अनावश्यक रूपमा ठूलो नबनाउन आग्रह गर्दै जनमत पार्टी मधेशको प्रमुख एजेण्डाको संवाहक रहेको दाबी गरेका छन् । केही वर्षअघिसम्म चुनावसँग प्रत्यक्ष सरोकार नभए पनि जनमत पार्टीले मधेशका मुद्दा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

राउतले भविष्यमा पनि मधेशको राजनीतिक नेतृत्व जनमत पार्टीले निरन्तर गरिरहने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया