२०८३ साल असोज ४ गते अाईतबार

तीज म्युजिक अवार्डको पाँचौँ संस्करण : भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल

काठमाडौं । तीज पर्वको अवसर पारेर आयोजना गरिएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को पाँचौँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंको बानेश्वरस्थित क्रिस्टल पार्टी भेन्युमा आयोजित समारोहमा नेपाली सांगीतिक क्षेत्रका कलाकारसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलालाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो।

समारोहमा गायिका यशोदा पराजुली र टिका पुनलाई ‘आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान’ प्रदान गरियो। त्यस्तै, गायिका कमला रिसाललाई ‘आर्टिस्ट अफ नेपाल साहित्य सम्मान’, अभिनेत्री न्यान्सी खड्कालाई ‘आर्टिस्ट अफ नेपाल चलचित्रकर्मी सम्मान’ तथा सोझना लोहोरलाई ‘आर्टिस्ट अफ नेपाल कला पत्रकारिता सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ।

चर्चित फेसन डिजाइनर काजल शर्मा ‘आर्टिस्ट अफ नेपाल फेसन सम्मान’, शीतल शर्मा र अनिता कुँवर ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान’बाट सम्मानित भए। सृष्टि घिमिरेलाई ‘आर्टिस्ट अफ नेपाल कोरियोग्राफी सम्मान’, अभिनेत्री तथा पर्वतारोही छिरिङ शेर्पालाई ‘आर्टिस्ट अफ नेपाल कला सम्मान’, जयन्ता अधिकारीलाई ‘आर्टिस्ट अफ नेपाल सम्मान’ तथा अञ्जु परिवारलाई ‘आर्टिस्ट अफ नेपाल सामाजिक सेवा सम्मान’ प्रदान गरिएको थियो। कानुनविद् कमला वलीलाई ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय सेवा सम्मान’ प्रदान गरियो।

सप्तरीका भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल

अवार्ड समारोहमा तीज गीत तथा भिडियोका विभिन्न विधामा उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिएको थियो। पुरुषतर्फ उत्कृष्ट तीज गीत भिडियो मोडलको अवार्ड सप्तरी निवासी भुवन के. पोखरेलले हात पारे।

पोखरेलको अभिनय रहेको तीज गीतको भिडियो उत्कृष्ट घोषित भएपछि उनले पुरुष मोडलतर्फको अवार्डसमेत जितेका हुन्। महिलातर्फ भने नारायणी खत्री उत्कृष्ट मोडल घोषित भइन्।

उत्कृष्ट तीज गीत भिडियोतर्फ ‘कर्णाली सेल’को गीतबाट नारायणी खत्री उत्कृष्ट ठहरिइन् भने पुरुषतर्फ भुवन के. पोखरेलको अभिनय रहेको गीत उत्कृष्ट घोषित भयो।

संयुक्त मोडलतर्फ झरना रिसाल र दिप्ती कार्कीले अवार्ड हात पारे। उत्कृष्ट तीज गीत भिडियो निर्देशनतर्फ निशान बानियाँ, छायांकनतर्फ देवराज आचार्य तथा कोरियोग्राफीमा जेरी भण्डारी उत्कृष्ट घोषित भए।

उत्कृष्ट तीज गीत संयुक्त गायनतर्फ रिता बुढाथोकी र समीक्षा अधिकारीले अवार्ड पाए। उत्कृष्ट तीज दोहोरी शब्दतर्फ कृष्ण लामिछाने, उत्कृष्ट तीज गीत गायिकातर्फ चाँदनी शाही तथा उत्कृष्ट तीज दोहोरी गीतकारतर्फ डा. अनिता रञ्जितकारले अवार्ड हात पारे।

उत्कृष्ट मौलिक तीज गीततर्फ सरिता घिमिरेको ‘नाचौँ न छमछमी’ तथा विपिन किरणको ‘नाच छमछम’ले अवार्ड प्राप्त गरे। ‘चट्टै परेर’ गीतबाट पियुष मलाहाले उत्कृष्ट तीज गीत पियानोवादकको अवार्ड पाए।

‘छेक्यो बरै बादलुले’ गीतबाट हमाल म्युजिक कम्पनी उत्कृष्ट म्युजिक कम्पनी घोषित भयो भने ‘नौरती फूली’ गीतबाट दीपक शर्मा लोकप्रिय संगीतकार बन्न सफल भए।

उत्कृष्ट जुरी अवार्डतर्फ मौलिक तीज गीत ‘कमैकोटी छ’बाट सुनील केसी तथा ‘चरी भएँ त’बाट राधा हमालले अवार्ड जिते। ‘कमैकोटी छ’ गीतबाट कृष्ण केसीले उत्कृष्ट तीज गीत शब्दको अवार्ड प्राप्त गरे।

‘चरी भएँ त’ गीतबाट राधा हमालले उत्कृष्ट तीज दोहोरी गायिकाको अवार्ड पाउँदा ‘नाचौँ न छमछमी’ गीतबाट विपिन आचार्य उत्कृष्ट म्युजिक एरेन्जर घोषित भए।

उत्कृष्ट तीज गीत ‘चरी भएँ त’बाट आशा बुढाले ‘पब्लिक च्वाइस अवार्ड’ जितिन्। उत्कृष्ट इन्स्ट्रुमेन्टल अवार्ड संगीतकारतर्फ ‘रिमझिमै घुमौँला फिरौँला’ गीतबाट रमेशराज भण्डारीले प्राप्त गरे।

कार्यक्रमको सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन्। नेपाली सांगीतिक क्षेत्रकी वरिष्ठ गायिका मीरा राणाको प्रमुख आतिथ्य तथा अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलको सभापतित्वमा समारोह सम्पन्न भएको थियो।

समारोहमा वरिष्ठ कलाकार मोहन निरौला, मदनदास श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासीलगायत कलाकार, संगीतकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा गायिका प्रीति आले र गायक खुमन अधिकारीले सांगीतिक प्रस्तुति दिएका थिए।

आयोजकका अनुसार तीजको मौलिकता, सांस्कृतिक परम्परा तथा नेपाली संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको हो।



प्रतिक्रिया