ताैलिहवा, २० जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने बताएका छन् ।
सदरमुकाम तौलिहवामा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष यादवले सत्ता गठबन्धनभित्र धेरै विवाद रहेकोले सरकार धेरै दिन नटिक्ने दाबी गरेका हुन् ।
सत्ता गठबन्धन घटक प्रमुख पार्टी एमालेलाई बेवास्ता र बाईपास गरेर बजेट ल्याएकाले अब यो सरकारको आयु धेरै नभएको एमाले अध्यक्ष केपी ओलीको असन्तुष्टिले समेत पुष्टि हुँदै गएको उनको तर्क छ ।
अहिलेको बजेट माओवादीले एकलौटी ढंगले ल्याएकाले सरकारमा असन्तुष्टि बढेको उनको भनाइ छ । आफ्नो पार्टीलाई पुष्पकमल दाहालले सरकार जोगाउने नाममा फुटाएको आरोप लगाउँदै यादवले माओवादी पार्टी पनि सिसाको घर भएकाले अरुको घरमा पत्थर हान्नेले यसको परिणाम चाँडै भोग्नु पर्ने चेतावनी दिए ।
उनले जनता समाजवादी पार्टी नेपालबाट अलग हुनेहरु अवसरवादी, लालची र स्वार्थीहरुमात्र भएको भन्दै उनले २ प्रतिशत पनि पार्टी कार्यकर्ता नगएको दाबी गरे । उनले अब आफ्नो पार्टी नयाँ ढंगले सुदृढ र शुद्धीकरण गरेर जाने बताए ।
जनकपुरमा हुने पार्टीको महाधिवेशनपछि पार्टी अझ संगठित, गतिशील र सशक्त हुने उनले बताएकाे समाचार कान्तिपुरले लेखेको ।