जनकपुरधाम, २५ जेठ । मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका जनमत पार्टीका सतिशकुमार सिंहले शपथ लिएका छन्।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्री सिंहसहित नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन्।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
उनलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन छ।
सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हुन् । यसअघि उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए।
त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित हुन्।
बुधबार जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले सरकार निर्माणका लागि बहुमत पेस गर्न शुक्रबार १० बजेसम्मको समय दिएकी थिइन्।