२०८३ साल असोज ४ गते अाईतबार

भोटेकोशी बाढीपीडितका लागि छिन्नमस्ता मन्दिरको १ लाख ५१ हजार रुपैयाँ सहयोग

छिन्नमस्ता, ४ असाेज । रसुवाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सप्तरीस्थित छिन्नमस्ता शक्तिपीठ सखडा भगवती मन्दिरले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरले मन्दिर समितिका तर्फबाट संकलित रकमको चेक आइतबार मन्दिर परिसरमा नेपाल सरकारका युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई हस्तान्तरण गरे। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

चेक हस्तान्तरण गर्दै ठाकुरले विपद्को कठिन समयमा धार्मिक तथा सामाजिक संस्थाहरूले प्रभावित नागरिकको सहयोगका लागि सक्दो योगदान गर्नुपर्ने बताए। सहयोग रकम सानो भए पनि बाढीपीडितलाई राहत पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको उनको भनाइ थियो।

चेक ग्रहण गर्दै मन्त्री यादवले विपद्का बेला मन्दिर समितिले देखाएको सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गर्नुुभयाे ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। सरकारले प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग जुटाउँदै आएको छ।

राजविराजबाट करिब १० किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता शक्तिपीठ सप्तरीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ।



प्रतिक्रिया