२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

शुद्धिकरणमा परेका असन्तुष्ट पत्रकारको समूहले महासंघमा गरे तालाबन्दी

राजबिराज, २४ फाल्गुन । सदस्यता शुद्धिकरणमा परेका असन्तुष्ट पत्रकारहरूको समूहले नेपाल पत्रकार महासंघ सप्तरीमा तालाबन्दी गरेका छन् ।

विभिन्न तीन बुँदे माग राख्दै पीडित पत्रकारहरूको समूहले बिहीबार महासङ्घको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

तीन वर्ष बितिसक्दा पनि एक पटक साधारण सभा नगरेको, सदस्यता शुद्धिकरणको नाममा पक्षपात गरी सदस्यता नवीकरण नगरेको र योग्य पत्रकारहरूलाई सदस्यता प्रदान नगरेको आरोप लगाउदै तालाबन्दी गरेको छ ।

पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले महासङ्घको कार्यालयमा तालाबन्दी गर्नु न्यायोचित काम नभएको बताएका छन् । उनले महासंघ विधि र प्रक्रियाबाट चल्ने नागरिकहरूको अगुवा संस्था भएकोले कार्यालयमा तालाबन्दी गर्नु निन्दनीय काम भएको बताए ।

असन्तुष्ट पक्षले ज्ञापनपत्र बुझाए लगतै महासङ्घको कार्यसमितिले पत्रकार सम्बद्ध संगठन समेतको सहभागितामा वार्ताबाट समस्याको समाधान गर्ने निर्णय गरे अनुसार उहाँहरूलाई वार्तामा बोलाइएको भएपनि वार्ता प्रक्रियाबाट पछि हटेर गलत मानसिकताबाट प्रेरित भई महासङ्घमा तालाबन्दी गरेको अध्यक्ष देवले जानकारी गराए ।

‘पटकपटक साधारण सभा गर्ने प्रयास भएकै हो, गत बैशाख २५ मा साधारण सभा गर्न लाग्दा सो हुन नदिन महासंघका सल्लाहकार जितेन्द्र खडका पनि कसेरै लागे । शुद्धिकरणमा पनि वहाँको अग्रणी भूमिका छ, अनि अहिले आएर दोहोरो भूमिका गर्नु भएन’ अध्यक्ष देवले भने ‘पछिल्लो पुस २० गते साधारणसभा गर्न लाग्दा केन्द्रले रोकेको छ, त्यहाँबाट निर्देशन भएपछि हामी गर्ने नै छौं ।’

लामो समय देखि पत्रकारिता पेशा छोडेर अन्य पेशा व्यवसायमा गएकाहरूलाई केन्द्रले तोकेको १५ बुँदे शुद्धिकरण मापदण्ड अनुसार सदस्यताबाट हटाइएको र पत्रकार महासङ्घलाई विशुद्ध पत्रकारहरूको संस्था बनाउने प्रयास गरिएको अध्यक्ष देवले बताए ।

नेपाल पत्रकार महासंघ नागरिकहरूको अगुवा संस्था, प्रेस अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ लडदै आएका संस्थामा तालाबन्दी गर्नु प्रेस स्वतन्त्रतालाई कुंठित पार्ने काम भएको अध्यक्ष देवको भनाई छ ।

वार्ता र सम्वादको ढोका अहिले पनि खुल्ला नै रहेकोले उनीहरूलाई वार्तामा बसेर समस्याको निकास निकाल्न देवले आग्रह गरेका छन् ।

प्रतिक्रिया