२०८३ साल ब‌ैशाख ७ गते सोमबार

तीव्र हावाहुरी र वर्षा–हिमपातको चेतावनी, सतर्क रहन सरकारको आग्रह

काठमाडौं ५ चेत । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। साथै, सोही दिनदेखि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लामा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ। हावाहुरीको गति झण्डै ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ।

प्रि–मनसुनको समय भएकाले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम उच्च रहेको प्राधिकरणले जनाएको छ। पछिल्ला दिनमा यस्ता घटनाबाट मानवीय क्षति समेत भएको उल्लेख गर्दै सतर्कता आवश्यक रहेको बताइएको छ।

प्राधिकरणले अत्यावश्यक काम बाहेक यात्रा नगर्न, हावाहुरीका बेला घरभित्र सुरक्षित रहन, झ्याल–ढोका मजबुत बन्द गर्न तथा आगलागी हुन सक्ने स्रोतहरू बन्द गर्न अनुरोध गरेको छ। सवारी साधन चलाइरहेका बेला हावाहुरी आएमा सुरक्षित स्थानमा रोकिन र भीडभाडमा नआत्तिइकन संयमित रूपमा सुरक्षित स्थानमा सर्न समेत आग्रह गरिएको छ।

त्यसैगरी, कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा र तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार नछुन तथा जोखिमपूर्ण स्थानबाट टाढा रहन पनि आग्रह गरिएको छ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान तथा आफ्ना सूचनाहरू नियमित रूपमा अवलोकन गरी आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।



प्रतिक्रिया