जनकपुरधाम, १५ कार्तिक । धनुषाको जनकनन्दनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुन एक घण्टाका लागि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनेकी छिन् ।
खातुनले बिहान ८ बजेदेखि ९ बजेसम्म मन्त्री पद सम्हालिन् ।
अन्तर्राष्ट्रिय बालिका दिवस अन्तर्गत समानताको सन्देश दिन प्लान इन्टरनेशनल नेपालको पहलमा खातुन मन्त्री बनेकी हुन् । उनी कक्षा ९ मा अध्ययनरत छिन् । मन्त्री बनेपछि खुशी लागेको उनले बताइन् ।
मन्त्रीको कुर्सीमा बसेर उनी आफ्नो गाउँको शिक्षा क्षेत्रको समस्या मन्त्री यादवलाई सुनाएकी थिइन् । उनी प्रदेश सरकारले चलाएको बेटी पढाऊ, बेटी बचाउ अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।
मन्त्री यादवले महिला र पुरुष बराबर हुन्छन् भन्ने सन्देश दिन बालिका खातुनलाई एक घण्टाका लागि आफ्नो पद हस्तान्तरण गरेको बताए । उनले ‘वालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारालाई सार्थक बनाउन आफू पछि नहट्ने प्रतिबद्धता पनि जनाए ।