राजबिराज, ०५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा भ्रष्टाचारका सर्वाधिक उजुरी सप्तरी जिल्लाबाट परेको छ ।
आयोगको क्षेत्रीय कार्यालयले कोशी प्रदेशको ११ र मधेश प्रदेशको एक सप्तरी गरी १२ कुल वटा जिल्ला हेर्दै आएको छ । जसमध्ये भ्रष्टाचारको सर्वाधिक उजुरी पर्ने जिल्लामा सप्तरी पहिलो र पाँचथर अन्तिममा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयद्वारा सोमवार राजविराज स्थित जिल्ला समन्वय समितीको सभाकक्षमा आयोजना गरिएको “भ्रष्टाचार विरुद्धको सहर्कायःसुशासनका लागि अपरिहार्य” विषयक कार्यक्रममा आयोगका क्षेत्रिय प्रमुख सुरेश न्यौपानेले यस्तो तथ्याँक सार्वजनिक गरेका हुन् ।
प्रस्तुत तथ्याँक अनुसार गत वर्षको सरेर आएको १ सय ७८ तथा चालु आ.ब.०८०/०८१ को फागुन मसान्त सम्मको ४ सय ६५ गरी सप्तरीबाट कुल ६ सय ४६ उजुरी छानवीन र कारवाहीको प्रकृयामा रहेको छ । यस्तै सबभन्दा कम पाँचथरबाट १८ वटामात्र उजुरी परी छानवीनको प्रकृयामा रहेको जनाइएको छ ।
त्यसैगरी सप्तरीमा पालिकागत हिसाबले सबभन्दा बढी बोदेबर्साइन नगरपालिकाबाट ६७ वटा भ्रष्टाचारको उजुरी परेको छ भने राजविराज नगरपालिकाबाट ६४, डाक्नेश्वरी नगरपालिकाबाट ५२ , महादेवा गाउँपालिकाबाट ३९, कंचनरुप नगरपालिकाबाट ३१, सप्तकोशी नगरपालिकाबाट ३०, सुरुंगा नगरपालिकाबाट २९, हनुमाननगर कंकालिनी नगरपालिकाबाट २७, विष्णुपुर गाउँपालिकाबाट २१, बलान विहुल गाउँपालिकाबाट २०, शम्भुनाथ नगरपालिकाबाट १९, तिरहुत गाउँपालिकाबाट १८, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाबाट १७/१७ वटा भ्रष्टाचार विरुद्धको उजुरी परेको छ । यसैगरी अग्नीसाईर कृष्णसवरण गाउँपालिकाबाट ९ र राजगढ गाउँपालिकाबाट ७ वटा उजुरी परेको आयोगको तथ्याँकले देखएको छ ।
सप्तरीमा गत वर्षको सरेर आएको सहित कुल ६ सय ४६ मध्ये २ सय ४६ उजुरी फछ्र्यौट भईसकेको र बाँकि छानवीनको प्रकृयामा रहेको आयोगका क्षेत्रिय प्रमुख नेउपानेले जानकारी दिए । आयोगका आयुक्त हरी पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको प्रमुख अतिथ्यामा आयोजित कार्यक्रममा १८ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भ्रष्टाचार विरुद्ध तयार पारिएको श्रव्य दृष्य सामग्री समेत प्रर्दशन गर्दै सरोकारवालालाई सचेत गराउने प्रयास गरिएको थियो ।