कृष्ण मण्डल
सप्तरी, साउन १२। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगिनीमाई मन्दिरमा आइतबार राति भएको तोडफोडको घटनाले स्थानीयहरु आक्राेशित बनेको छ ।
मन्दिरभित्र रहेका भगवान शंकर र देवी पार्वतीकाे मूर्तिकाे टाउको काटेर फालिएको छ भने मन्दिरको संरचनामा समेत क्षति पुर्याइएको स्थानीय एक युवा ओैमशंकर यादवले जानकारी दिएका छन्।
घटनापछि सोमबार बिहानदेखि स्थानीयवासी र युवाहरू मन्दिर परिसरमा भेला भएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आक्रोश पोखिरहेका छन्। उनीहरूले यस्ता घटना दोहोरिन नदिन प्रशासनले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। माग सम्बोधन नभए बजार बन्द, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।
उक्त घटनाबारे सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाले प्रारम्भिक अनुसन्धानका आधारमा तोडफोडमा संलग्न व्यक्ति मानसिक अवस्था असामान्य अर्थात् अर्धपागल हुन सक्ने बताएका छन्। उनका अनुसार दुई दिनअघि पनि सोही व्यक्तिले यस्तै प्रकारको तोडफोड गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो। त्यसबेला आवश्यक प्रक्रिया पूरा गरी छाडिएको र पुनः उही व्यक्तिको संलग्नतामा घटना भएको हुन सक्ने आशंका गरिएको उनले बताए।
सीडीओ थापाले घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए।
यद्यपि, स्थानीयवासीले घटनालाई गम्भीर रूपमा लिँदै धार्मिक आस्थामाथिको प्रहार भएको बताएका छन्। उनीहरूले निष्पक्ष छानबिन, धार्मिक स्थलको सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा दोषीलाई कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।