कृष्ण मण्डल
छिन्नमस्ता, १२ साउन। सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित वडा कार्यालयमा स्थानीय बासिन्दाले सोमबार तालाबन्दी गरेका छन्।
मलखाद वितरणमा वर्षौंदेखि अनियमितता, कमिसनखोरी र अपारदर्शी कार्यशैली रहेको आरोप लगाउँदै स्थानीयले विरोधस्वरूप वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीयका अनुसार कृषिमा पूर्ण रूपमा निर्भर रहेको उक्त वडामा हरेक वर्ष रासायनिक मलको अभाव हुने गरेको छ। तर वितरण प्रक्रियामा मोटो कमिसन लिने, पहुँचका आधारमा मल बाँड्ने तथा वास्तविक किसानलाई वञ्चित गर्ने कार्य हुँदै आएको स्थानीय शिवविहारी मण्डलको आरोप छ।
साथै ९६५ रूपैयाँमा दिईने युरिया मल ११ सय र २४१५ मा दिईने डिएपी मल ४ हजार बढीमा दिने गरेको स्थानीय हबिब मंसुरीले बताए ।
आन्दोलनमा उत्रिएका स्थानीयले विगत चार वर्षदेखि मर्मतसम्भार, विपद् व्यवस्थापन तथा अन्य विभिन्न शीर्षकमा भएको खर्चको विस्तृत विवरण सार्वजनिक गर्न माग गरेका छन्। साथै, सोही अवधिमा खरिद तथा वितरण गरिएको मलखादको सम्पूर्ण अभिलेख सार्वजनिक गरी निष्पक्ष छानबिन गर्नुपर्ने उनीहरूको माग छ।
गाउँपालिका अध्यक्षका प्रत्याशी कुलानन्द यादवले गाउँपालिका उपाध्यक्षका श्रीमान् तेजनारायण यादवले मलखाद वितरणमा प्रभाव पार्दै आएको आरोप लगाएका छन्।
यता वडा अध्यक्ष कपिलेश्वर साहले भने मलखाद वितरणसम्बन्धी विषयमा आफू अनभिज्ञ रहेको बताएका छन्। उनले वितरणको जिम्मेवारी वडा सदस्य गजेन्द्र साहलाई दिइएको उल्लेख गर्दै सोही क्रममा अनियमितता भएको हुन सक्ने दाबी गरेका छन्। साथै, उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताएका छन्।
खुदीबखारी, कोचाबगारी र कुपही क्षेत्रका किसानहरूको सहभागितामा भएको विरोध प्रदर्शनका क्रममा स्थानीयले मलखाद वितरणलाई पारदर्शी बनाउन, विगत चार वर्षको खर्च विवरण सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। माग सम्बोधन नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनीसमेत उनीहरूले दिएका छन्।