२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

गजेन्द्रनारायण सिंह अस्पताल डुबानमा

राजबिराज, २० असार । सप्तरीको राजविराज र आसपासको क्षेत्रमा भारी वर्षा हुँदा गजेन्द्रनारायण सिंह अस्पताल डुबानमा परेको छ ।

अस्पताल परिसरमा पानी निकासको व्यवस्था नहुँदा दुई फिटसम्म डुबान हुँदा ओपीडी, एक्सरे र फार्मेसीसहितका सेवा प्रभावित भएको छ । अस्पताल परिसरमा भइरहेको निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गर्दा वर्षामा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

तीन दिनदेखि लगातार वर्षा भइरहेको सप्तरीमा आज बिहानदेखि भने भारी वर्षा भइरहेको छ । अहिले बरमझिया र राजविराज विमानस्थल क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बरमझियामा पछिल्लो ६ घण्टामा ११७.२ मिलिमिटर वर्षा भएको छ भने राजविराज विमानस्थल क्षेत्रमा १०१.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

मेघगर्जनसहित भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । वर्षाले सदरमुकाम राजविराजसहित जिल्लाभरिका शैक्षिक संस्थाका पठनपाठन प्रभावित भएको छ । साथै दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग समस्यामा परेका छन् ।

यता वर्षा भएसँगै किसानले भने राहत महसुस गरेका छन् । रोपाइँ गर्ने बेलामा पानी नपरेर सुख्खा हुँदा चिन्तित किसानहरु वर्षा पनि खुशी भएका छन् ।

वर्षासँगै सप्तकोसी नदीमा बाढी आएको छ । आज बिहान सवा १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड पानीको बहाव १ लाख २६ हजार १६५ क्यूसेक रेकर्ड भएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

कूल ५६ वटा ढोका रहेको कोसी ब्यारेजमा अहिले बहाव बढेसँगै १८ वटा खोलिएको छ । लगातारको वर्षाले सप्तरीका सबै खोला, नदीको जलस्तर बढ्दै गएको छ ।

प्रतिक्रिया