राजबिराज , १० असार ।
सप्तरीकाे खडक नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० बजेट र नीति तथा कार्यक्रम पारित गर्दै आफ्नो ११ओैँ नगरसभा सम्पन्न गरेको छ ।
नगरपालिकाले आयोजना गरेको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० का लागि उपमेयर रिता कुमारी चौधरीले ८३ करोड ५८ लाख ४१ हजारको बजेट बिनयोजन गरे । प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ १ करोड ४० लाख, नेपाल सरकारबाट प्राप्त वित्तीय समाणीकरणतर्फ १५ करोड १ लाख, स–सर्त अनुदानतर्फ २७ करोड ६२ लाख, राजश्व वाडफाडतर्फ ११ करोड ४८ लाख ७९ हजार रहेको छ ।
यसैगरी प्रदेश सरकार वित्तीय समाणीकरण ९१ लाख ६२ हजार र सवारी साधन करबाट ७० लाख, संघीय सरकारबाट बिशेष अनुदान १ करोड, समपुरक अनुदानबाट १ करोड ७५ लाख बजेटमा रहेको छ । यसैगरी प्रदेश सरकार बिशेष अनुदान तर्फ ३० लाख र समपूरक अनुदानतर्फ २० लाख प्रदेशबाट प्राप्त हुने अनुमान गरेको गरेको छ ।
खडक नगरपालिकाको ११ औं नगर सभाले एक वडा एक नमूना विद्यालय छनोट गरी एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिने, सामुदायिक विद्यालयमा निशुल्क पोशाक, गर्भवती महिलाई निःशुल्क भिडियो एक्सरे र विद्यालय र स्वास्थ्य केन्द्रमा सिसि क्यामरा जडान गरी नगरपालिकाबाट निगरानी गरिने योजना अघि सारेको छ ।
यसैगरी नगरपालिकामा प्रांगारिक मल उद्योग स्थापना गर्ने यस वर्ष मुख्य आकर्षणमा परेको छ । नगरसभामा नगर प्रमुख जयप्रकाश चौधरीले बजेट बारेको नीति तथा कार्यक्रम कार्यक्रम प्रस्तुत गरेका थिए ।