काठमाडौँ, २७ असाेज । जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीलाई आज प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गरेको छ ।
सत्ता गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि प्रधानमन्त्री देउवाले जसपाका ४ जना मन्त्रीहरूलाई पदमुक्त गरेको हो ।
नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरि उहाँहरूले सम्हाल्नुभएको मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवा आफैँले राख्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै, राष्ट्रपतिले सरकारको सिफारिसमा नेपालको संविधानको धारा ७८ बमोजिम २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनुभएका गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले उहाँले सम्हाल्दै आउनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।