राजबिराज, २० मंसिर । सरकारले घोषणा गरी शिलान्यास गर्दा समेत रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणतर्फ कुनै तदारुकता नदेखाएको भन्दै सप्तरीमा हस्ताक्षर संकलन अभियान शुरू गरेको छ ।
सप्तरी युथ नेपालले बुधबारदेखि राजविराजकाे पानी टयांकी चाेकमा ७ दिने हस्ताक्षर अभियानमा १० हजार हस्ताक्षर संकलन कार्य राजबिराज नगरपालिकाकाे प्रवक्ता जायनरायण मण्डलबाट शुरू गरेको हाे ।
उक्त अभियान २३ गतेसम्म जारी रहने युथ नेपालको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले नेपाल सरकारले जिल्लामा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज नगरपालिका १० बिरौलमा भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेपछि सप्तरीबासी उत्साहित भएपनि अहिले निराश भएकाले आफूहरु आन्दोलनमा उत्रेको बताए ।
प्रतिष्ठान निर्माणको माग गर्दै युथ नेपालले यसअघि एक हप्ते बिभिन्न दवावमूलक आन्दोलन गरिसकेकाे छ ।