पोखरा, २६ असाेज । स्वतन्त्र उम्मेदवारी दिनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भनिने राजीव गुरुङ निर्विरोध निर्वाचित भएको छ ।
प्रदेशसभा सदस्यका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका मन्त्री गुरुङ अर्का स्वतन्त्र उम्मेदवार दोर्जेलामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै निर्विरोध निर्वाचित भएको हो ।
निर्वाचन आयोगले तीन बजेपछि औपचारिक घोषणा गर्ने तयारी गरेको छ । उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएको छ । प्रदेशसभा सदस्यका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका लामाले विहान १० बजेर ८ मिनेटमा उम्मेदवारी फिर्ताको निवेदन दिर्ता गराएको थियो । उम्मेदवारी फिर्तासँगै मन्त्री गुरुङ गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनुहुनेछ । उक्त क्षेत्रमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष नेकपा एमाले तथा अन्य दलले आफ्ना उमेदवार उठाएका छैनन् ।