२०८२ साल असार ९ गते सोमबार

राजविराजमा निकालियाे भगवान जगन्नाथको रथयात्रा

राजबिराज, १३ पुस । सप्तरी सदरमुकाम राजविराजमा शनिबार भगवान जगन्नाथको रथयात्रामा निकालिएको छ। 

राजविराज हटिया स्थित रहेको लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट भगवान जगन्नाथको रथयात्रा निकालिएको हो ।

रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह, प्रदेश सांसद महेश यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण मण्डल लगायत विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, युवायुवती, बृद्धबृद्धा गरी २० हजारको हाराहारीमा भक्तजन सहभागी भएका छन्।

नरिवल फुटाएर रथयात्राको शुभारम्भ गरेका मुख्यमन्त्री सिंहले बहुधार्मिक, बहुसांस्कृतीक र बहुभाषिक नेपाली समाजको विशेषता रहेको बताए। उनले यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै समाजमा धार्मिक आस्था र आपसी सद्भाव बढाउने थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको समन्वय तथा कृष्णभक्त मण्डल एवं इस्कान राजविराजको संयुक्त आयोजनामा विगत तीन वर्षदेखी रथयात्रा महोत्सवको रुपमा मनाउन थालिएको आयोजक समितिका हितेश यादवले जानकारी दिए।

भगवान जगन्नाथ, बलदेव र सुभद्राको मूर्ति राखेर तेश्रो संस्करणको यात्रामा प्रयोग गरिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको उनले बताए ।

रथको अग्रभागबाट दायाँ र बाँया फैलिएका ७५ फिट लम्बाईको डोरी तान्न भक्तजनमा तछाडमछाड नै चलेको थियो। रथयात्रा नगर परिक्रमा पश्चात् पुनः सोही मन्दिरमै पुगेर समापन भएको छ ।

रथयात्रामा सप्तरीका साथै सुनसरी, मोरङ, सिरहा, धनुषा तथा भारतको बृन्दावन, मायापुर, मथुरा, दरभंगा, मधुवनी लगायतका स्थानबाट समेत साधुसन्त र भक्तजन सहभागि हुन आएका थिए ।

रथयात्रामा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो। प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले रथयात्रालाई भयरहित बनाउन ड्रोन क्यामराबाट निगरानी गर्नुका साथै डेढ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया