२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

प्रदेश सरकारलाई असफल पार्न संघिय सरकार षड्यन्त्र गरिरहेको आरोप :अर्थमन्त्री साह

राजबिराज , १३ भदौ । मधेश प्रदेशका अर्थमन्त्री तथा सरकारका प्रवक्ता एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र साहले प्रदेश सरकारलाई असफल पार्न संघिय सरकार षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

 प्रहरी प्रशासन बिनाको सरकारको परिकल्पना गर्न नसकिने बताउँदै मधेश सरकारको प्रहरी भर्ना गर्न संघिय सरकार बाधक बनेको उनले बताएका छन् । प्रवक्ता साहले संविधानमा नै संघिय सरकारले कानुन बनाए पछि मात्र प्रदेश प्रहरी ऐन लागु हुने व्यवस्था राखेर संघले षड्यन्त्र गरेको दाबी गरे । सरकार बनेको पाँच वर्ष बित्न लाग्दा समेत संघ सरकारले प्रदेश प्रहरी भर्ना गर्न नदिएको प्रति प्रवक्ता साहले आक्रोश प्रकट गरेका छन् ।


तिलाठी कोइलाडी गाउँपालिकाको बर्साइनमा सोमबार आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै संघियताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरु विचको एकता अपरिहार्य रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले

 बताउनु भयाे । मधेश आन्दोलनको बलमा नै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनेको प्रवक्ता साहले दाबी गर्नुभयाे । देशमा संघीयता आए पनि मधेशी जनता अझै पनि अधिकारबाट वञ्चित रहेको बताउँदै आन्दोलनको हरेक मोर्चामा जसपा नेपाल सक्रिय रहेको उहाँले भन्नुभयो  ।

पार्टी प्रवेश कार्यक्रममा नवआगन्तुकहरुलाई स्वागत गर्दै अर्थमन्त्री साहले चुनावी र आन्दोलन दुवै मोर्चामा तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । आगामी चुनावमा जसपा नेपालको जित भए मात्र संघियता मजबुत हुने उहाँले बताए । पार्टी सडक, सदन र सरकारमा रहेर संघर्ष गरिरहेको बताउँदै जसपा नेपालले मधेश सरकार बनाएर ४० वर्षमा नभएको विकास ५ वर्षमा गरेको दाबी गर्नु भयो । प्रदेश सरकारले हरेक क्षेत्रमा धेरै कामहरु अगाडि बढाएको बताउँदै ४२ वटा कानुनहरु तयार पारेको उहाँले बताउनु भयो  । प्रदेशमा कर्मचारीको अभाव पूरा गर्न प्रदेश लोक सेवा आयोगले काम गरिरहेको समेत प्रवक्ता साहले बताउनु भयो ।

विकासका साथै पहिचानको लडाईंको नेतृत्व जसपा नेपालले नै गरिरहेको उहाँले दाबी गर्नु भयो ।पहिले काठमाडौंमा जाँदा मधेशिया भनेर हेप्ने गरेकोमा आज काठमाडौंमा पनि मधेश प्रदेशको बासी भन्न थालेकोमा गर्वको कुरा भएको प्रवक्ता साहले बताउनु भयो ।

आजको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ४ सय को संख्यामा स्थानीय नेता कार्यकर्ताहरुले जसपा नेपालमा प्रवेश गरेको जिल्ला कार्यकारिणी सदस्य निरज मुक्तिले बताए ।

प्रतिक्रिया