राजविराज, २१ श्रावण । सप्तरीमा जिल्ला प्रशासन कार्यालय प्रवेशमा पत्रकारहरुलाई रोक लगाईएको छ । आइतबार समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई सुरक्षाकर्मीले कार्यालय भित्र प्रवेशमा रोक लगाएको हो ।
जनमत पार्टीद्वारा जिल्लालाई सुख्खा क्षेत्र घोषणाको माग राखी प्रजिअ मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकार बृजमान तामाङ र डम्बर राईलाई सुरक्षाकर्मीले कार्यालय प्रवेशमा रोक लगाएका छन् । हामी संचारकर्मी हो प्रवेश गर्न दिनुस भनि पटकपटक आग्रह गर्यौं, पत्रकार राईले भने, हामीले गरेको आग्रहको कुनै सुनुवाइ भएन, त्यसपछि हामी गेटबाटै फर्किनु बाध्य भयौं ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई समेत फोन गरि हामीलाई प्रवेशका लागि बाताबरण मिलाई दिनुसभन्दा चासो नदिएको पत्रकार बृजमान तामाङले बताए । प्रजिअ थापालाई फोन मार्फत घटना बारे जानकारी दिएँ, तामाङले भने, प्रजिअ थापाले पर्खनुस म भन्छु भनेपछी कुरेर बस्यौं तर हाम्रो गुनासोलाई वास्ता नगरी प्रजिअले जनमत पार्टीको ज्ञापनपत्र बुझे, हामी बाहिरबाटै फिर्ता भयौं । प्रमुख जिल्ला अधिकारी थापाले पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउने मनसाय नभएको बताए । उनले व्यस्तताले गर्दा भुलवस सुरक्षाकर्मीलाई भन्न नपाएको भन्दै आप्mनो त्रुटी भएको स्वीकार गरे ।
यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीले समाचार संकलनमा लगाएको रोकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिब रामनारायण विश्वासले आइतबार एक प्रेस विज्ञाप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेको अबस्थामा पनि पञ्चायतकालिन शैलीले प्रहरी, प्रशासनले व्यवहार देखाउनु र पत्रकारलाई आफ्नाे काम गर्नुबाट रोक्नु खेद जनक कार्य हो, हामी यसको भत्र्सना गर्दछौं महासंघद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।
आगामी दिनमा प्रेस स्वतन्त्रता विरुद्धका कुनै पनि काम नगर्न प्रहरी प्रशासनलाई सचेत गराउछौं, यस किसिमको काम पुनः दोहोरिएमा नेपाल पत्रकार महासंघ चुप लागेर नबस्ने चेतावनी दिन चाहन्छौ जारी विज्ञप्तिमा भनिएको छ ।