काठमाडौं, २४ फाल्गुन । लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ ।
लोक सेवा आयोगले पदपूर्ति गर्दा लिने विभिन्न परीक्षाको पाठ्यक्रम पुरानो ढर्राको भएको भन्दै आलोचना भइरहेको बेला कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चौथो राष्ट्रिय सम्मेलनले पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने निर्णय गरेको हो ।
विहीबार सार्वजनिक १३ बुँदे निर्णयको पहिलो बुँदामा लेखिएको छ, ‘लोक सेवा आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने ।’
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले केन्द्र र प्रदेश लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षाको पाठ्यक्रममा एकरुपता कायम गर्दै आधुनिक समयको माग अनुसारका कर्मचारी छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नसक्ने प्रकृतिको बनाउनुपर्ने आवश्यकता बोध भएका सुर्खेत सम्मेलनबाट उक्त निर्णय गरिएको बताए ।
उनले भने, ‘प्रदेशको आ–आफ्नो अधिकार क्षेत्र हो भन्ने मात्र कुरा नगरेर, आफ्नो विशेषता अनुसार फरक गर्नुपर्ने कुरामा सामान्य फरक पनि गर्ने र मूल रुपमा एकरुपता कायम गर्नुपर्ने ठाउँमा एकरुपता कायम गर्दै समग्र मुलुकलाई ध्यानमा राखेर पाठ्यक्रम बनाउने हो ।’
अहिलेको पाठ्यक्रम नराम्रो नभए पनि त्यो अलि परम्परागत खालको भएकाले त्यसलाई परिमार्जन गरेर अझै राम्रो बनाउन खोजिएको अध्यक्ष रेग्मीको भनाइ छ । ‘हाम्रो पाठ्यक्रम अलि ट्रेडिसनल खालको भयो भन्ने कुराहरु उठेका छन् । त्यसअनुसार हामीले सुधार गर्दै लगेका पनि छौं,’ अध्यक्ष रेग्मीले भने, ‘उम्मेदवारहरु लोक सेवाको परीक्षा पास गरेर त आए तर जनताको सेवा गर्ने प्रकृतिका आए कि आएनन् भन्ने प्रश्न पनि छ । त्यसैले पाठ्यक्रम परिमार्जनको निरन्तरतालाई थप तीव्रता दिँदै जाने हो ।’