कृष्ण मण्डल
राजबिराज, १ पुष । राजविराज विमानस्थलबाट रात्रिकालिन उडानका लागि सोमबार टेस्ट फ्लाईट हुने भएको छ ।
टेस्ट फ्लाईटका लागि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सहितका टोली सोमबार साँझ राजविराज विमान स्थल आउन लागेका हुन् ।
राजविराजबाट काठमाण्डौका लागि बुद्ध एयरको यउटा विमान उडान भर्दै आएकोमा यात्रुको चापका कारण विमानको संख्या बढाउन गत असोज ५ मा सप्तरीका एक प्रतिनिधि मण्डलले मन्त्री पाण्डे समक्ष आग्रह गरेका थिए ।
सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवको नेतृत्वमा कांग्रेस जिल्ला सभापति रामदेव साह, सचिव सनत मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, सदस्य कृष्ण मण्डल र पत्रकार संजिव विक्रम शाह सहितका प्रतिनिधि मण्डलले मन्त्री समक्ष दैनिक दुई उडानको व्यवस्था मिलाउन गरेको आग्रह पछि मन्त्री पााण्डेले बुद्ध एयर संग कुरा गरेर सेवा विस्तारका लागि पहल गरिने प्रतिवद्धता जनाएका थिए ।
विमानस्थलमा लगाईएका बत्तीहरुको समेत परिक्षण हुने र सफलता मिल्यो भने रात्रीकालिन फ्लाइटहरु नियमितरूपमा सञ्चालनमा आउने कुरा राजविराज विमानस्थल कार्यालयका प्रमुख ध्रुबराज श्रेष्ठले जानकारी दिए ।
साँझ ५ बजे आउने फ्लाइटलाई स्वागत सहित उदघाटन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि आउने उनले बताए ।