राजबिराज , २६ असाेज । सप्तरीकाे छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव मृत भेटिएको घटना प्रकरणमा अनुसन्धानका लागि सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) प्रदिप खड्का हेडक्वाटर तानिएका छन् ।
यहि असाेज २० गते बिहिवार दिउँसो २ बजे नेपाल–भारत सीमाभन्दा करिब ३ किलोमिटर दक्षिणमा पर्ने बिहार राज्यको मधुबनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पंचायत अर्नामास्थित घोडदह खोलामा असई यादव नग्न अवस्थामा मृत भेटिएका थिए ।
उक्त घटनामा अनुसन्धानका लागि एसपी खड्कालाई हेडक्वाटर तानिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयाे । ‘घटनाबारे सोधपुछका लागि उहाँलाई झिकाइएको छ’, उहाले भन्नूभयो ।
यसै घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसप) नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान जारी रहेको बताए । ‘अहिले ठक्कै केही भन्न सक्ने अवस्था छैन्, यद्यपी अनुसन्धान जारी छ’ उनले भने, ‘चाँडै हामी टुंगो लगाउँछौं भन्ने अपेक्षा गर्दा हुन्छ ।’
मृत भेटिएको असईको शरीरकाे घाटी र टाउकोमा चोट देखिएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप कुराहरु खुल्नसक्ने प्रहरीले जनाएको छ ।
त्यही स्थानीयवासीहरुले यश घटना प्रकरणमा दाेषी चाडै पत्ता लगाइयाेस भनी दबाब दिएका छन् ।