२०८३ साल साउन १२ गते मङ्गलबार

पत्रकार महासंघद्वारा ५ बुँदे छिन्नमस्ता घाेषणापत्र जारी

सखडा, १६ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आफ्नो पहिलाे बैठक छिन्नमस्ता गाउँपालिकामा अवस्थित छिन्नमस्ता भगवती मन्दिरको सभाहलमा सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न महासंघको कार्यसमिति बैठकबाट विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै स्थानीय समस्याहरुलाई समेत उजागर गरी समाधान हेतु ५ बुँदे छिन्नमस्ता घोषणा जारी गरेको हाे ।

घोषणा पत्रकाे पहिलो बुँदामा राजविराज–छिन्नमस्ता सडक निर्माणको ठेक्का लागेपनि काम शुरु नगर्दा छिन्नमस्ता मन्दिरमा पूजापाठ एवं दर्शनका लागि आउने श्रद्धालुलाई सास्ती भोग्नुपरिरहेकाले अबिलम्ब सडक निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।



त्यसैगरी दाेस्राे बुँदामा छिन्नमस्ता भगवती मन्दिर संरक्षण, सम्वद्र्धन समितिको विधान बनाउन ढिलो हुँदा कामकाज तथा गतिविधी गर्न बिभिन्न समस्या आइरहेको हुँदा अबिलम्ब विधान बनाएर कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी तेस्रो बुँदामा छिन्नमस्ता मन्दिरको नजिकै छेउमै रहेका मदिरा पसलहरु निर्वाद्ध संचालन भइरहेकाले त्यसलाई व्यवस्थित गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी चाैथाे नम्बर बुँदामा जिल्लाका मिडियाहरु धरासायी हुने क्रम बढिरहेकोले स्थानीयतह  सरकार गम्भीर बन्नुपर्ने र विज्ञापन स्थानीय मिडियालाई दिनुपर्ने हो । तर, यहाँका मिडिया÷पत्रकारलाई वेवास्ता गरी पालिकाहरुले बाहिरका मिडिया एवं पत्रकारलाई विज्ञापन उपलब्ध गराउँदै आएको छ । यसर्थ पालिका एवं यहाँका सरकारी कार्यालयले सप्तरीकै मिडियालाई समानुपातिक तरिकाले विज्ञापन उपलब्ध गराउन माग गरेको छ । 



त्यस्तै पाँचौ बुँदामा पत्रकारलाई रिपोर्टिङ गर्न कुनै वाधा, अवरोध नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै पत्रकारलाई पनि आचारसंहिताको पालना गरेर रिपोर्टिङ गर्न आग्रह समेत गरेको महासंघद्वारा शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकले नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको प्रबक्तामा शाखा सचिव श्री खगेन्द्र कार्कीलाई प्रबक्ता तोक्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया