२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

अत्याधुनिक सुविधा सहितको १५ शैय्याको आँखा अस्पताल सञ्चालनमा

राजबिराज, १९ कार्तिक । अत्याधुनिक प्रविधि र सुविधासहितको १५ शैय्याको सगरमाथा आँखा अस्पताल राजबिराजमा सञ्चालन भएको छ । 

 राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख ईसरत प्रवीणले शनिबार उक्त अस्पतालको उद्घाटन गरेकी छिन् । 

अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित उपकरण र विशेषज्ञहरुको टोलीबाट एकै थलोमा आँखा सम्बन्धि सबै खाले रोगको उपचार सेवा उपलब्ध हुनु यस भेगका जनताका लागि अति खुशीको कुरा भएको प्रविणले बताइन ।

    सो अवसरमा अस्पतालका प्रबन्धक अफाक अनवरले अस्पतालमा आँखा सम्बन्धि सबै खाले रोगको विशेषज्ञ चिकित्सक टोली तथा प्रविधियुक्त मेसिनबाट सस्तो र स्तरीय उपचार सेवा प्रदान गरिने जानकारी दिएका छन् । भिजन परिक्षण, मोतियाबिन्दु, जलबिन्दु, कोर्नियल अल्सर, मेडिकल रेटिना, अकुल प्लाष्टि, आँखाको नानी प्रत्यारोपन देखि आँखाको जटिल प्रकृतिका सबैखाले शल्यक्रिया र रोगको उपचार यस अस्पतालमा गरिने उनले बताए । 

    उनले अस्पतालमा विराटनगर आँखा अस्पतालका पुर्व निर्देशक तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. संजय कुमार सिंह, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रोहित सैजु र डा. गोविन्द पौडेल सहितको चिकित्सक टोलीले नियमित उपचार सेवा प्रदान गर्ने जानकारी दिए ।

    आफुले विगत एक दशकदेखि बिराटनगर र काठमाडौंस्थित विभिन्न आँखा अस्पतालमा यही पेशा अँगालेको अनुभवले यस्तो आट गरेको उनको भनाई छ । 

    अस्पतालले नेत्र विशेषज्ञको अभावलाई पूर्ति गर्न नेपाल तथा भारतको नेत्र चिकित्सकको लागि फेलोसिप प्रोग्राम तथा पारामेडिकलका लागि प्राथमिक लेभलको ‘आँखा स्वास्थ्य कार्यकर्ता’ जस्ता छोटो अवधिको तालिमहरु संचालन गरेर जनशक्ति उत्पदानमा जोड दिने गुरुयोजना समेत तयार पारेको जनाएको छ । राजविराजमै यति ठूलो लगानी र प्रविधिबाट संचालनमा आएको यो पहिलो अस्पताल भएको संचालकको दावी छ ।

    अधिकांश नागरिक स्वास्थ्य उपचारका लागि धरान, विराटनगर तथा छिमेकी राष्ट्र भारतको विभिन्न सहरमा पुग्ने गरेका छन् । तर यस अस्पताल संचालनमा आएपछि अन्यन्त्र जानु पर्ने राजविराज र आसपासका नागरिकको समस्या अब टरेको छ ।

प्रतिक्रिया