राजविराज, ६ फाल्गुन । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ स्थित कृष्ण कुमारी देवी राजपुत मेमोरियल आधारभूत विद्यालय को. बर्साइनमा आइतबार बालबालिकाहरुलाई पोशाक वितरण गरिएको छ ।
बालबालिकालाई पोशाक वितरण गर्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले सबै बालबालिकालाई समान रुपमा पहिचान दिलाउन पोशाकको महत्वपूणर् भूमिका रहेको बताउनुभयो । बालबालिकाको शिक्षाप्रति अभिभावकले चासो राख्नुपर्ने आवश्यकता औंल्याउँदै अभिभावक सचेत नभए विद्यालयमा पढाएर मात्र बालबालिकाको भविष्य सुनिश्चित नहुने बताउनुभयो ।
आफ्ना वडाभित्रका सबै विद्यालयका बालबालिकालाई पोशाक वितरण गर्ने नीति अनुरुप पोशाक वितरण गरिएको बताउँदै वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले आफ्नो वडाको चार वटै विद्यालयमा पोशाक वितरण गरिएको जानकारी दिनुभयो । बालबालिकालाई शिक्षाप्रति प्रोत्साहित गर्न विभिन्न कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।
कक्षा ६ सम्म सञ्चालित सो विद्यालयमा २६५ जना बालबालिका बालबालिकालाई सर्ट, पाइन्ट, जुत्ता, मौजा र स्वेटर वितरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिनुभयो ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष ललनप्रसाद राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य हिरालाल साह, प्रधानाध्यापक केदार पण्डितसहितकाले मन्तब्य ब्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक राधेश्याम मण्डलले स्वागत गर्नुभएको सो कार्यक्रम शिक्षक रामनारायण रायले सञ्चालन गर्नुभएको थियो ।