पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएकी उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा जेलमा २० वर्ष थुनाएर सडाउने धम्की दिएकाले कसैलाई भन्न नसकेको लेखाएकी छिन्।
उनीसँगै एउटै आरोपमा हिरासतमा रहेका अन्य महिलाले पीडित महिलासँग र आफूहरूसँग प्रहरीले गर्ने व्यवहार नै छुट्टै रहेको बताएका छन्। उनीहरूका अनुसार पीडित महिला दिनभरि कार्यालयको बरन्डामा खुला रूपमा बस्न पाउँथिन्। रात परेपछि मात्र हिरासतमा ल्याइन्थ्यो। बलात्कारको घटनाबारे कसैलाई नभनेमा अभियोगबाट छुटाइ दिने र नोकरीसमेत लगाइदिने आश्वासन दिई अनुचित प्रभावमा पारेको पीडितले बताएकी छिन्।
अदालतले स्वास्थ्य परीक्षण गर्न आदेश दिँदा आरोपित अन्य दुई महिलाले स्वास्थ्य परीक्षण गराए पनि पीडित महिलाले प्रहरीको धम्कीकै कारण परीक्षण गर्न नमानेको कुरा महिलाले पछि मात्र बताएको कानुन व्यवसायीले बताए।
महिलाको बयानलाई लिएर अनुसन्धानका बारेमा यसअघि नै जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीसँग अन्नपूर्णकर्मीले जिज्ञासा राख्दा एसपी कार्कीले महिलाले आरोप लगाए पनि आन्तरिक अनुसन्धान गर्दा त्यस्तो नदेखिएकाले मुद्दा नचलाइएको बताएका थिए। अहिले लिखित उजुरी नै लिएर गएका कानुन व्यवसायीले दर्ता गरी अनुसन्धान गर्न आग्रह गर्दा एसपी कार्कीले प्रहरी अधिकृतकै विरुद्धको मुद्दा सहजै दर्ता गर्न नसकिने उत्तर दिएको बताएका छन्।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा कसैले जबरजस्ती करणी गर्न नहुने उल्लेख छ। सोही दफा को ३ (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद हुने व्यवस्था छ। दफा २२१ मा कैद वा थुनामा रहेका व्यक्तिसँग सरकारी कर्मचारीले करणी गरे वा गराएमा थप तीन वर्ष कैद हुने व्यवस्था छ।
पीडितका पतिको कात्तिक ६ गते मृत्यु भएपछि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेपछि महिलाले मंसिर ७ गते एउटा इन्स्योरेन्स कम्पनीबाट बिमा रकम प्राप्त गरेकी थिइन्। सोही प्रहरी कार्यालयले करेन्ट लागि भवितव्य मृत्यु भएको भनेर दिएको कागजातका आधारमा अर्को इन्स्योरेन्स कम्पनीमा रकम दाबी गरेपछि करेन्ट लगाएर मारेको भनी मुद्दा चलाइएको पनि उनको गुनासो छ। जिल्ला अदालत सप्तरीबाट भएको आदेशविरुद्ध महिलाले उच्च अदालत जनकपुर राजविराज इजलासमा निवेदन गरेकी छिन्। याे समाचार अन्नपुर्ण पाेष्टमा छ ।