२०८३ साल ब‌ैशाख ५ गते शनिवार

छिन्नमस्ता मन्दिर समिति विघटन

राजबिराज, ३१ श्रावण । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अवस्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको संरक्षण सम्वद्र्धन समिति अर्को व्यवस्था नहुन्जेल सम्मका लागि विघटन गरिएको छ । 

नयाँ विधान दर्ता भई कार्यान्वयन नहुन्जेलसम्मका लागि मन्दिरको दैनिक कार्य संचालन तथा पूजापाठ व्यवस्थापनका लागि गुठियार अविनाश कुमार प्याकुरेल, मन्दिरका पीठाधीश महाकान्त ठाकुर, मूलपूजारी भुवन ठाकुरसहित सम्पूर्ण पुजारीहरु मिलि गर्ने निर्णय समेत गरिएको छ । 

बुधबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा परिषद्को बैठकले सो निर्णय गरेको हो । 

बैठकमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, वडा नं. ३ का अध्यक्ष बिजयकुमार यादव, गाउँपालिकाका सल्लाहकार तेजनारायण यादव, पीठाधीश ठाकुर, समितिका सचिव बाबुनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।           
 

यसअघि साउन २४ गते मन्दिरका पिठाधीश महाकान्त ठाकुर तथा मन्दिर संरक्षण सम्बद्र्धन समितिका सचिव बाबु नारायण मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्दिर समितीको नियमित कामकाजमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो गरेका थिए । 

विज्ञप्तिमा केही ब्यक्तिहरुले विभिन्न गुट, उपगुट बनाई पुजारी तथा समितिका पदाधीकारीहरुमाथी अनावश्यक दवाव दिने, निर्णयहरुमा हस्तक्षेप गर्ने, अमर्यादित ब्यवहार गर्ने र धाकधम्की समेत दिएर तर्साउन खोज्ने लगायतका गतिवीधी हुन थालेको जनाइएको थियो ।

प्रतिक्रिया