राजबिराज, २२ फाल्गुन । सप्तरीको बोदेबरसाइन नगरपालिकाका मेयर सहित आठ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।
मेयर आतेशकुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, पशु विकास अधिकृत (अधिकृत छैटौँ) अर्जुनप्रसाद यादव र कृषि समूहका सदस्यसहित आठजनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।
सुरु नै नभएको आयोजनाको स्थलगत अनुगमनदेखि कार्यसम्पन्न प्रतिवेदन बनाएर नगरपालिकाबाट झुटा बिलका आधारमा १४ लाख ७२ हजार रुपैयाँ भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित आठ जनामाथि १३ भदौ ०८० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार अन्तिम फैसला सुनाउँदै सबैलाई सफाइ दिएको अदालतले जनाएको छ ।