२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

पत्रकार धम्क्याउनेलाई महासंघले कारबाहीको माग गर्दै प्रहरीमा दिए उजुरी

राजविराज, २० मंसिर । सप्तरीलाई कार्यक्षेत्र बनाएर कान्तिपुर पत्रिकाकाे लागि समाचार संकलन र सम्प्रेषण गर्दै आएका अवधेश झालाई धम्की दिने व्यक्तिलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रहरीमा उजुरी दिएका छन् । 

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका झालाई समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक संजालमा खुलेयाम ज्यान मार्ने धम्कीदिनेलाई मंगलबार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवकाे टाेलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका हुन ।

पत्रकार झाले १७ मंसिरको कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसँग समाचार सम्बन्धित छ । 


उक्त समाचार प्रकाशन भएपछि बजार चौकमा केही व्यक्तिले पत्रकार झालाई भौतिक कारबाही हुने भनी जानकारी आएको छ, महासंघ सप्तरीले प्रहरीमा बुझाएको उजुरीमा भनिएको छ, यसको अतिरिक्त नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि थप पत्रकार झा असुरक्षित हुन पुगेको छ, उक्त फेसबुक आईडिहरुमा लेखिएको स्क्रिन सर्ट समेत यसै निवेदनसाथ सलग्न छ । 

समाचार लेखेको विषयमा सम्बन्धी पक्षलाई आफ्नो अनुकूलको चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी प्रावधान हुँदा पनि फेसबुकमा नसरुल राजा र मो. सजादको सामाजिक संजालमा पत्रकार झालाई ज्यान मार्ने धम्कीसम्म दिएको हुँदा उनीहरूलाई कानुन बमोजिम कारबाहीको माग गर्दै यो निवेदन दिएका छौं महासंघले दिएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया