राजविराज, २९ भदौ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ नम्बर वडाका ८५ भूमिहीन सुकुम्बासी घरपरिवारलाई मंगलबार जग्गाधनी प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरिएको छ । अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षता तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बीच भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको हो ।
राष्ट्रिय भूमी आयोग जिल्ला समिति सप्तरीको समन्वयमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले वडा नम्बर ४ का ८५ परिवार दलित भूमिहीन, सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरे । लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आफुले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरुलाई लालपूर्जा वितरण गरिएको बताईन् । उनले गाउँब्लक, पुनःनापी र विशेष नापीबाट ४९ हजारभन्दा बढी र राष्ट्रिय भूमि आयोगमार्फत करिब १ हजार घर परिवारलाई लालपूर्जा वितरण गरिएको जानकारी दिईन् ।
मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएको बताईन् । उनले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने जिकिर गरिन् । मन्त्री श्रेष्ठले नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सबै खालका समस्या समाधान गरिसक्ने योजना रहेको बताईन् ।
उनले यही आर्थिक वर्षभित्र ३ सय पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने कुरा योजनाका साथ अगाडि बढाएको बताईन् । मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितहरुका लागि सरकारले गरिरहेको लालपूर्जा वितरण कार्य आचारसंहिता लाग्ने विषय नभएकोले निरन्तर वितरण हुनुपर्ने उल्लेख गरिन् । मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित भएर काम गरिरहेको बताईन् । उनले सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन शुरु भइसकेको पनि बताइन् ।
कार्यक्रममा मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादव, राष्ट्रिय भूमी आयोग नेपालका अध्यक्ष केशव निरौला, उपाध्यक्ष महेन्द्र खडका, राष्ट्रिय भूमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादव लगायतकाले मन्तव्य व्यक्त गरे ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाका कार्यक्रम अधिकृत योगेन्द्र प्रसाद यादव र राष्ट्रिय भूमी आयोग सप्तरीका विज्ञ सदस्य पंचदेव चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले गरे ।