२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

४८ घण्टा भित्र पत्रकार धम्क्याउनेलाई पक्राउ नगरिए महासंघले संघर्ष थाल्ने

राजविराज, १ पौष । समाचार लेखेके कारण पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई सप्तरी प्रहरीले अहिलेसम्म पक्राउ नगरेको  प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आपत्ति जनाएको छ ।

शुक्रबार महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले विज्ञप्ति जारी गर्दै ४८ घण्टाभित्र पनि ती व्यक्तिलाई पक्राउ नगरिए सशक्त संघर्ष थाल्ने चेतावनी दिएका हुन् ।

‘उपरोक्त सम्बन्धमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, सप्तरी शाखाका सदस्य एवं कान्तिपुर दैनिक पत्रिकामा कार्यरत पत्रकार अवधेश कुमार झामाथि समाचार लेखेकै कारण केही ब्यक्तिले सामाजिक सञ्जाल मार्फत खुल्लेआम ज्यानमार्ने खालको तस्वीर राखेर धम्की आएको अवगत नै छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार झाले १७ मंसिर २०७९ का दिन कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणको पेज नम्बर ४ मा प्रकाशित ‘तोक आदेशमा कर्मचारी भर्ना’ शिर्षकको समाचार लेख्नुभएको थियो । राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसँग समाचार सम्बन्धित छ ।’

सो समाचारलाई लिएर नसरुल राजा र मो.सजाद नामक फेसबुक आइडीबाट पत्रकार झाको तस्बिर समेत राखेर ज्यानमार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । ‘सोही समाचारप्रति फेसबुकमा नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडीवाट पत्रकार झाको तस्विरमा क्रस चिन्ह लगाएर ज्यानमार्ने धम्की दिएको भन्दै आवश्यक कारबाहीको माग गर्दै २० मंसिर २०७९ मै पत्रकार झाको तर्फबाट नेपाल पत्रकार महासंघ सप्तरी शाखाले संस्थागतरुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपनि हालसम्म पीडकलाई प्रहरीले पक्राउ गर्न नसक्नुप्रति हाम्रो घोर आपत्ती छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘जसले गर्दा पत्रकार झा सप्तरी जिल्लामा बसेर समाचार संकलन गर्न असुरक्षितसमेत भएका छन् ।’

पछिल्लो पटक सो विषयलाई लिएर आजै महासंघको राजविराज स्थित कार्यालयमा पत्रकार सम्बद्ध नेपाल प्रेस यूनियन, प्रेस मञ्च नेपाल, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालका अध्यक्ष तथा प्रतिनिधि सम्मिलित बैठकले सशक्त संघर्ष गर्ने चेतावनी सहितको ४८ घण्टे अल्टिमेटम दिइएको महासंघले जनाएको छ ।

प्रतिक्रिया