राजबिराज , ७ असाेज । सन्तानको दीर्घजीवन, दीर्घायु पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र पर्व ‘जितिया’ सप्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।
मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो ।
तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छभने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छिन्नमस्ता मन्दिरका पिठाधिस महाकान्त ठाकुरले बताउनुभयो ।
व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् ।
व्रत बस्नु अघिल्लो दिनमै (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखासन्तानलाई पनि प्रसादका रुपमा सोही तेल लगाइदिने चलन छ ।
व्रतको पहिलो दिन (आज) पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ ।
त्यसैगरी, विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु) महिलाहरु ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरुले ओङ्गठनमा च्यूरा, दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ । 
- जेनजी मुभमेन्टद्वारा गृहमन्त्री सुधन गुरुङको बर्खास्ती माग
- जेनजी आन्दोलनपछि गृहमन्त्री गुरूङद्वारा ५० लाख बढीको सेयर खरिद
- सप्तरीका एसपी केसीको गालीगलौज अडियो भाइरल, छानबिन सुरु
- जनजाति महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण
- पत्रकार महासङ्घ अध्यक्ष देवको राजीनामा माग्दै सहसचिवको ४८ घण्टे अल्टिमेटम