२०८२ साल असार ९ गते सोमबार

नाराबाजीका बीच चाैथाे पटक प्रधानमन्त्रीले लिए विश्वासको मत

काठमाडौं , ७ जेठ । नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिएका छन्।


सोमबार बसेको प्रतिनिधि सभा दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको घेराबन्दी र नाराबाजीका बीचबाटै विश्वासको मत लिएका हुन्।


सोमबार मतदानमा १५८ जना सहभागी रहे। प्रधानमन्त्री दाहाललाई एक सय ५७ सांसदले मत दिएका छन्। विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए।


प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए।


सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको पनि घोषणा गरेका छन‍्। नाराबाजी गरिरहेको नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएनन्। 


२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो।

त्यसपछि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए।

त्यतिबेला विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका थिए भने प्रस्तावको विपक्षमा ११० मत परेको थियो।

प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो। 

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिएका हुन्। 


प्रतिक्रिया