राजबिराज, २३ चैत । विद्युतीय सवारी साधनका लागि चार्जर मेसिन जडान गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरणका एक प्रमुख अधिकारी रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख महेन्द्र दासलाई १ लाख ४० हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा सप्तरीको भारदहबाट रंगेहात पक्राउ गरिएको हो।
आयोगका अनुसार चार्जर जडान गरिदिने बहानामा सेवाग्राहीसँग रकम माग गरिएको भन्ने उजुरीपछि विशेष टोली खटाइएको थियो। सोही क्रममा सेवाग्राहीबाट घूस रकम बुझ्दै गरेको अवस्थामा दासलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
पक्राउ परेका दासलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ। भ्रष्टाचारसम्बन्धी कसुरमा प्रमाण संकलन गरी मुद्दा दायर गर्ने तयारी भइरहेको पनि जानकारी दिइएको छ।