२०८३ साल ब‌ैशाख २ गते बुधबार

कार्यालय स्थानान्तरण गर्ने निर्णयसहित हनुमाननगर कंकालिनी नगरपालिकाको विशेष नगरसभा सम्पन्न

राजबिराज, २७ चैत — हनुमाननगर कंकालिनी नगरपालिका को विशेष नगरसभा शुक्रबार सम्पन्न भएको छ। सभाले महत्वपूर्ण निर्णय गर्दै हाल सञ्चालनमा रहेको नगर कार्यपालिकाको कार्यालयलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने निर्णय गरेको छ।

नगरसभामा प्रस्तुत प्रस्तावमाथि विस्तृत छलफल गर्दै कोशी तटबन्ध क्षेत्रअन्तर्गत भारत सरकारको स्वामित्वमा रहेको भवनमा सञ्चालन भइरहेको कार्यालय निरन्तर वर्षाका कारण प्रभावित भएको निष्कर्ष निकालिएको हो। वर्षाका कारण भवनभित्र पानी प्रवेश भई महत्वपूर्ण कागजात तथा सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने जोखिम बढेको, साथै दैनिक सेवा प्रवाहमा अवरोध सिर्जना भएको उल्लेख गरिएको छ। कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय सञ्चालन गर्न समेत कठिनाइ भइरहेको जनाइएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै नगरसभाले वडा नं. ५ र ७ को सिमानामा हालै निर्माण सम्पन्न भएको पशु भेटेरिनरी अस्पतालको नयाँ भवनमा नगर कार्यपालिकाको कार्यालय अस्थायी रूपमा सार्ने निर्णय गरेको हो। उक्त भवन नेपाल सरकारको जग्गामा निर्माण भएको र आवश्यक संरचना तथा कोठाहरू पर्याप्त रहेको हुँदा सेवा प्रवाहलाई निरन्तरता दिन सहज हुने विश्वास लिइएको छ।

नगरपालिकाको आफ्नै स्थायी प्रशासनिक भवन निर्माण तथा व्यवस्थापन नभएसम्मका लागि सोही भवनबाट सम्पूर्ण कामकाज सञ्चालन गर्ने निर्णय नगरसभाबाट अनुमोदन गरिएको छ।

नगरपालिकाले यस निर्णयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र नागरिकलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया