२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

मधेसका पत्रकारको सुरक्षादेखि शिक्षासम्म प्राधिकरणको योजना

कृष्ण मण्डल

ढलकेबर, २५ चैत । आमसञ्चार प्राधिकरण मधेस प्रदेशले पत्रकारहरूको हितका लागि यसै आर्थिक वर्षभित्रै विभिन्न महत्वाकांक्षी योजना लागू गर्ने घोषणा गरेको छ।

प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काले पत्रकारहरूका लागि हाल लागू रहेको दुर्घटना तथा स्वास्थ्य बिमालाई विस्तार गर्दै अब जीवन बिमामा परिणत गर्ने जानकारी दिएका छन्। हाल झन्डै ७ सय पत्रकार यस योजनामा समावेश भए पनि अपेक्षित रूपमा प्रभावकारी नभएकाले जीवन बिमामा रूपान्तरण गर्न लागिएको उनले बताए।

ढलकेबरमा आयोजित दुई दिने अनलाइन सञ्चारकर्मीहरूसँगको तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले पत्रकारहरूको क्षमता विकास तथा प्रोत्साहनका लागि लेखनवृत्ति (फेलोसिप) कार्यक्रम सञ्चालन गरिने बताए। यसअन्तर्गत मधेस प्रदेशसँग सम्बन्धित विषयमा अनुसन्धानमूलक सामग्री तयार गर्न करिब ५० हजार रुपैयाँसम्मको फेलोसिप उपलब्ध गराइनेछ।

त्यसैगरी, पत्रकारितामा उत्कृष्ट योगदान गर्नेहरूलाई आकर्षक राशिसहित आठ वटा विधामा पुरस्कार प्रदान गरिने योजना अघि सारिएको छ।

शिक्षा क्षेत्रमा पनि प्राधिकरणले विशेष प्राथमिकता दिएको छ। पत्रकारिता विषयमा ब्याचलर, मास्टर्स, एमफिल तथा पीएचडी अध्ययन गर्ने पत्रकारहरूलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिने अध्यक्ष खड्काले जानकारी दिए।

मधेस प्रदेशका आठै जिल्लाबाट पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अध्यक्ष खड्काले चालु आर्थिक वर्षमै यी योजनाहरू कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे।



प्रतिक्रिया