२०८३ साल जेठ १७ गते अाईतबार

संघीयता र गणतन्त्रलाई बलियो बनाउन प्रमुख दलहरु जिम्मेवार नभएको : मन्त्री लेखीकाे आराेप


राजबिराज, ०७ फाल्गुन । मधेश प्रदेश सरकारले ७५ ओैं राष्ट्रिय प्रजातन्त्र दिवस सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित रहेको छिन्नमस्ता भगवती मन्दिर परिसमा दिप प्रज्वलन लगायत विभिन्न कार्यक्रम गरी मनाएको छ ।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा गृहसंचार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन् ।


नेपालकाे संविधानमा उल्लेखित स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र स्वायत्त इलाका कार्यान्वयनमा सरकार चुकेको बताउदै उहाँले संघीयता र गणतन्त्रलाई बलियो बनाउन प्रमुख दलहरु जिम्मेवार नभएको बताउनुभयो  ।

 “काँग्रेस, एमाले र माओवादी मिलेर बनाएको संविधान कार्यान्वयनमा तीनै दल जिम्मेवार देखिएन” मन्त्री लेखिले भने, “पटक पटक यी तिनै दलले सरकारको नेतृत्व गरे तर, संघीयता बलियो बनाउन पुर्णरुपमा संविधानको कार्यान्वयन गर्न सकेको छैन् ।” 

मन्त्री लेखिले संघीयता र समावेशीतालाई बलियो बनाउन संविधान अनुसारको कानुन संघीय सरकारले बनाउनुपर्नेमा जोड दिनुभयाे ।

प्रदेश र स्थानिय सरकारबाट जनताले ठूलै अपेक्षा राखेपनी प्रदेश सरकारसँग त्यो अनुसारको बजेट नहुँदा समस्या भएको बताउँदै उनले भने, “७० प्रतिशत सम्म बजेट संघीय सरकारले राख्ने अनि प्रदेश र स्थानिय सरकारबाट बढी अपेक्षा राख्ने ।”


छिन्नमस्ता गाउँपालिका सप्तरीको सहआयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले आम जनतालाई प्रजातन्त्रको अनुभूति हुनेगरी काम गर्न आवश्यक रहेको बताए ।

 त्यसैगरी छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आमजनताले प्रजातन्त्रको अनुभूती गर्न नसकेको गुनासो गरे । कार्यक्रममा सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरी, सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालले व्यवस्था फेरिएपनि जनताको अवस्था नफेरिएको उल्लेख गरे ।
 कार्यक्रममा मानव विकास केन्द्र जनकपुरका निर्देशक कुन्दन झाले नेपालमा प्रजातन्त्रको विकासक्रम बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने नीति तथा योजना आयोग मधेश प्रदेशका सदस्य डा. शीला मिश्रले प्रजातान्त्रिक नेपालमा महिला सशक्तिकरण बारे प्रस्तुती गरेकी थिइन् ।
प्रतिक्रिया