राजबिराज, २३ मंसिर । सप्तरी सदरमुकाम राजविराजमा एक जना अस्पतालका कर्मचारी मृत फेला परेका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत कर्मचारी सुधीर झाकाे शव राजविराजस्थित रहेको जिल्ला खेलकुद विकास समितिको हाताभित्र रहेको महेन्द्र क्लबको भवनमा आईतवार फेला परेको हो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुर निवासी अन्दाजी ५० वर्षीय झाको शव आइतबार बिहान क्लब भवनको झ्यालमा घाँटीमा डोरीले बाँधेको र घुँडा खुम्च्याएर उभिएको अवस्थामा फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट घटनास्थल पुगेको टोलीले आवश्यक मुचुल्का उठाई पोस्टमोर्टमको प्रक्रिया अगाडि बढाएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
पोस्टमोर्टम रिपोर्ट र सीसीटीभी फुटेजका आधारमा घटनाको अनुसन्धान गरिने प्रहरी अधिकारीको बताउनुभयो ।
यता मृतक झाकाे परिवार र अस्पताल प्रशासनले कुकुर बाेलाएर हत्यारा पत्तालगाउनुपर्छ भन्दै अहिले बेलुका ५ बजे सम्म शव यथावत रहेको छ ।