राजविराज, ०४ बैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका १० का गफुर मियाको छोरा मो.रोजित मियाले १५ लाख रकम ठगी गरि फरार रहेका छन् ।
बिहिवार राजबिराजमा पत्रकार सम्मेलन गर्दै छिमेकी इश्लाम मियाले पटकपटक गरी रोजितले आफ्नो छाेरा नजिबुल्लाह बाट १५ लाख रकम लिएर फरार भएको आरोप लगाएका हुन् ।
साउदी अरवमा वैदेशिक रोजगारीकाे क्रममा आफ्ना छोरा मो.नजिबुल्लाहसंगै छिमेकी तथा मिल्ने साथी राेजितले बैकमार्फत पटकपटक गरि ३ लाख र २०८१ फागुन २४ गते एकमुष्ट १२ लाख गरि कुल १५ लाख लिएर भागेको बताए ।
'छोरासंग रोजितले ससुरालीमा जग्गा किन्दै छु सहयोग गर्नुभनेपछी नगद १२ लाख र ३ लाख बैकबाट गरि १५ लाख लिए'उनले भने,'पैसा लिएपछि साउदीबाट घर आएका रोजित सम्पर्कविहीन भएपछि मेरो छोरा पनि केही दिनका लागि घर आयो तर रोजित बेपत्ता भएपछि सबै विवरण दिएर फेरि छोरा साउदी फर्किए ।'
उनले पैसा लिएको दिनदेखि रोजित सम्पर्कमा नआएपछि उनका बुवा गफुर मियासहितका परिवारका सदस्यहरुसंग कुरा राख्दा यस बारे आफुहरुलाई कुनै मतलब नभएको भनी जवाफ पाएको बताए ।
रोजितसंग यसअघि भएको फोनबार्तामा पैसाको कुरा गर्दा मेरो पछाडि नलाग, तेरो खान्दान मिटाई दिन्छु भनी धम्की दिएको पत्रकार सम्मेलनमा इश्लामले बताए ।
उनले ठगिएको थाहापाएपछि जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिई खोजतलास गर्दा समेत रोजित अहिलेसम्म फेला नपरेको बताए ।
छोराले साउदीमा पसिना बगाएर कमाएको पैसा ठगी हुँदा आफ्नो परिवार नै ठूलो पिडामा रहेको दुखेसो सुनाउँदै इश्लामले ठगी भएको रकम फिर्ता गराई दिन तथा संलग्न व्यक्तिलाई खोजतलास गरि कानूनी कारबाहीको दायरामा ल्याउन सहयोग गरिदिन स्थानीय प्रहरी -प्रशासन तथा संचारकर्मीहरुलाई आग्रह समेत गरे । यस बारे मो. रोजितसंग पटकपटक टेलिफोन सम्पर्क गर्दा फोन लागेन ।