राजबिराज, २५ असोज । विश्वकाे ५८ ओैं स्थानमा पर्ने सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बर्द्धन समितिले बडा दशैंमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ ।
मंगलबार समितिद्वारा राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय विवरण सार्वजनिक गरेको हो ।
छिन्नमस्ता भगवती मन्दिरका पीठाधिश एवम् समितिका कार्यबाहक अध्यक्ष महाकन्त ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिका वरिष्ठ सदस्य राम कुमार ठाकुरले २०७९ को विजय दशमीमा भएको १५ लाख २५ हजार ७ सय ७५ रुपैया आम्दानी तथा ११ लाख ८८ हजार रुपैयाँ खर्च विवरण प्रस्तुत गरे ।
प्रस्तुत प्रतिवेदन अनुसार बलि प्रदानबाट ४ लाख ६८ हजार ९ सय ३६, गाडी पुजनबाट ५१ हजार १ सय २८ मुण्डनबाट १३ हजार ६ सय, गाडी पार्किङबाट ३७ हजार ९९ सय, चन्दा सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसल ८१ हजार ९ सय ५०, विवाह ६ हजार ४ सय, पिकनिक १ हजार ९ सय २०, दान पेटिकाबाट ७२ हजार ८ सय ९६, शिघ्र दर्शनबाट ७ लाख, ५९ हजार ७ सय ८५ रुपैया नगद आम्दानी भएको छ ।
यसैगरी रंगरोगन ३ लाख ५० हजार, विजुली डेकोरेशन २ लाख ७५ हजार, सरसफाई १ लाख ५ हजार, शान्ति सुरक्षा ४५ हजार, मर्मत सम्भार २ लाख ३१ हजार, अतिथि सत्कार २५ हजार, कर्मचारीको दशैं खर्च ९१ हजार ९ सय २० र विविध ६५ हजार ८० रुपैया गरी कूल ११ लाख, ८८ हजार रुपैयाँ खर्च भएको छ ।
कार्यक्रममा बोल्दै पीठाधिश ठाकुरले यस वर्ष दशैंमा आम्दानी बढी र खर्च कमी भएकोले ३ लाख ३७ हजार ७ सय ८५ रुपैया बचत भएको बताए । संचारकर्मी, सुरक्षाकर्मी तथा सम्पूर्ण सप्तरीबासीको सहयोगले कुनै अप्रिय घटना नभई शान्तिपूर्ण किसिमले दशैं पुजा सम्पन्न भएको बताउँदै उनले सरोकारवाला, सहयोगी सबैप्रति छिन्नस्ता भगवतीले कल्याण गरुन् भन्दै धन्यवाद समेत व्यक्त गरे ।