२०८३ साल जेठ ११ गते सोमबार

‘स्वच्छ चुलो कार्यक्रम’ विस्तार, सप्तरीका ७ स्थानीय तहमा कार्यान्वयन

कृष्ण मण्डल,

राजबिराज, ११ जेठ । “स्वच्छ चुलो, आधुनिक भान्सा” भन्ने मूल नारासहित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा सञ्चालित ‘स्वच्छ चुलो कार्यक्रम’ सम्पन्न भएको छ ।

सोमबार सप्तरीको सदरमुकाम राजविराजमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वय तथा हरित जलवायु कोषको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमअन्तर्गत तराईका २२ जिल्लाका २८४ स्थानीय तहमध्ये १५० स्थानीय तहमा विभिन्न चरणमा योजना सञ्चालन गर्ने लक्ष्य रहेको बताइएको छ । पाँच वर्षे अवधिको यस कार्यक्रमको पहिलो चरणमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा र सप्तरी गरी ६ जिल्लाका ८७ स्थानीय तह मध्ये ४५ वटामा सम्झौता गरी कार्यक्रम कार्यान्वयन भइरहेको यस कार्यक्रमका कोशी प्रदेश प्रमुख किशोर कार्कीले जानकारी दिए ।

राजविराजमा आयोजित कार्यक्रममा सप्तरीका महादेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बोदेबरसाइन नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा कञ्चनरूप नगरपालिका गरी ७ स्थानीय तहमा कार्यक्रम लागू गरिएको प्रदेश उर्जा अधिकृत सुशिला ढकालले बताइन् ।

उनका अनुसार कार्यक्रम केवल स्वच्छ चुलो वितरणमा सीमित नभई ११ वटा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममार्फत हालसम्म २४ सय जनालाई तालिम तथा प्रशिक्षण प्रदान गरिएको छ भने ३२ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।


आव २०८०/८१ देखि सुरु गरिएको कार्यक्रमअन्तर्गत इन्डक्सन चुलो, सुधारिएको चुलो तथा घरायसी बायोग्यासजस्ता प्रविधि वितरण गरिँदै आएको छ । स्थानीय तहमार्फत आवेदन फारम संकलन गरी आवश्यक प्रक्रियापछि चुलो वितरण गरिने व्यवस्था रहेको कार्यक्रमका अधिकृतहरूले जानकारी दिएका छन् । कार्यक्रममा उपभोक्ताले पनि निश्चित लागत साझेदारी गर्नुपर्ने व्यवस्था रहेको जनाइएको छ ।

उक्त कार्यक्रममा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा र सप्तरीका छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यान्नद चाैधरी लगायत स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यालय प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


प्रतिक्रिया