२०८३ साल जेठ ११ गते सोमबार

लालपूर्जाको माग गर्दै राजविराजमा रिले अनसन

राजबिराज, १० जेठ । राजविराजका लालपूर्जाविहीन नगरवासीले जग्गाधनी प्रमाण–पत्र (लालपूर्जा)को माग गर्दै शुक्रबार साँझदेखि राजविराज नगरपालिका कार्यालयको सभाकक्षमा अनसन सुरु गरेका छन्।

सरोकारवाला निकायलाई सात दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापनपत्रमाथि कुनै चासो नदेखाइएको भन्दै नगरवासी आन्दोलनमा उत्रिएका हुन्। शुक्रबार साँझसम्म कार्यवाहक नगरप्रमुख इसरत परविनसँग भएको वार्ता निष्कर्षविहीन तथा आश्वासनमै सीमित भएपछि बाध्य भएर नगरपालिकाकै सभा कक्षमा अनसन थालिएको जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले जानकारी दिए।

समितिले गत वैशाख २४ गते लालपूर्जाविहीन ५ हजार २ सय परिवारलाई जग्गाधनी प्रमाण–पत्र उपलब्ध गराउनुपर्ने एकसूत्रीय मागसहित प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नापी कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय तथा राजविराज नगरपालिकालाई सात दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो। तर तोकिएको समयसीमा सकिँदासमेत कुनै निकायले सक्रियता नदेखाएको आन्दोलनकारीहरूको गुनासो छ।

आन्दोलनकारीका अनुसार दुई दिनअघि मात्र नापी कार्यालयले नगरपालिकासँग रायसहितको जवाफ मागेको थियो। तर नगरपालिकाले उचित जवाफ दिन ढिलाइ गरेपछि आन्दोलन थप चर्किएको उनीहरूको भनाइ छ।

राजविराजको मुख्य बजार तथा आसपासका करिब ७० बिगाहा क्षेत्रफलमा नगर स्थापना कालदेखि बसोबास गर्दै आएका ५ हजारभन्दा बढी परिवार हालसम्म लालपूर्जा पाउनबाट वञ्चित छन्। उनीहरूले नगरपालिकाबाट प्राप्त रसिदकै आधारमा बैंक तथा वित्तीय संस्थामा जग्गा धितो राखी ऋण लिँदै आएको भए पनि विगत ८ वर्षदेखि उक्त सुविधा रोकिएको बताएका छन्।

वि.सं. २०२८ सालमा भएको नापीमा ती जग्गा गाउँब्लकअन्तर्गत रहेको उल्लेख गरिएको छ। साथै २०१६ सालदेखि २०७५ सालसम्म ती जग्गाको खरिद–बिक्री, अंशबण्डा, रजिस्ट्रेशन पास तथा बैंकमा धितो राखी ऋण लिने कार्य हुँदै आएको आन्दोलनकारीहरूको दाबी छ।

नगर परिषद्को २०८२ कात्तिक २८ गतेको बैठकले समेत लालपूर्जा प्रदान गर्न नापी कार्यालयलाई सिफारिस गरिसकेको भए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै नगरवासीले तत्काल समस्या समाधान गर्न माग गरेका छन्।



प्रतिक्रिया